८ भदौ, सेढवा – मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले परम्परा, धर्म र संस्कृतिको संरक्षण सबैको नैतिक दायित्व भएको बताएका छन्।
जगरनाथपुर गाउँपालिकाले आयोजना गरेको तीज विशेष कार्यक्रममा शुभकामना व्यक्त गर्दै मन्त्री क्षेत्रीले आधुनिकतासँगै समाजमा विकृति र विसंगति बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे। उनले भने, “घर–घरमा हुने पूजापाठ हराउँदै गइरहेका छन्, युवा पुस्ता मद्यपान र लागुऔषध दुर्व्यसनतर्फ आकर्षित भइरहेका छन्। यस्ता विकृतिहरूलाई कम गर्न महिलाले महत्वपूर्ण भूमिका खेल्न सक्छन्।”
गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बबिता सिंह क्षेत्री, नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, कोषाध्यक्ष प्रेम बहादुर थापा लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रम नेरा माध्यमिक विद्यालय, सन्ठीमा आयोजना गरिएको हो। प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले आफ्नो विचार राख्दै परम्परा जोगाउन स्थानीय तह, समाज र परिवारको भूमिका महत्वपूर्ण रहने बताए।
कार्यक्रममा महिला जनप्रतिनिधि, शिक्षिका, महिला स्वास्थ्यकर्मी तथा स्थानीय महिलाहरूले तीजका गीतमा नृत्य प्रस्तुत गर्दै उत्सवलाई रमाइलो बनाएका थिए।