२४ श्रावन,धनगढी — जिल्ला सुरक्षा समितिले कैलाली कारागारमा भएको झडपको छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ। शनिबार प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोगन बहादुर हमालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा समिति गठन गरेको हो।
समितिमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरीक्षक राजकुमार सिंह, सशस्त्र प्रहरीका डिएसपी जनकराज पन्त, अनुसन्धान विभागका अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य रहेका छन्।
प्रजिअ हमालका अनुसार समितिलाई १० दिनभित्र आवश्यक छानबिन विधि अपनाई प्रतिवेदन पेश गर्न समयसीमा तोकिएको छ।
गत शुक्रबार कैलाली कारागारमा कैदीबन्दीका दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। घटना पछाडि भएको कारण, सुरक्षामा कमजोरी र अन्य तथ्य पत्ता लगाउन समिति सक्रिय हुने जनाइएको छ।