२४ श्रावन वीरगंज – श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज देशभर रक्षाबन्धन र जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व विधिपूर्वक मनाइँदै छ। बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीहरू नदी, ताल, पोखरी वा धारामा स्नान गरी गुरु पुरोहितबाट मन्त्रिएको यज्ञोपवीत (जनै) र रक्षासूत्र (डोरो) धारण गरिरहेका छन्। धार्मिक विश्वासअनुसार यस दिनको रक्षासूत्रले नकारात्मक शक्तिबाट रक्षा गर्छ।
दाजुभाइ र दिदीबहिनीबीचको पवित्र स्नेह र बन्धनको प्रतीक रक्षा बन्धन पर्व धूमधामका साथ मनाइने भएको छ। प्रत्येक वर्ष श्रावण पूर्णिमाको दिन मनाइने यस पर्वमा दिदीबहिनीहरूले दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु र समृद्धिको कामना गर्छन्, र दाजुभाइहरूले दिदीबहिनीलाई उपहारसहित संरक्षणको वाचा गर्छन्।
शास्त्रअनुसार ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीहरूले यस दिन जनै फेर्नुपर्ने मान्यता छ। जनै पूर्णिमामा एघार थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने परम्परा पनि छ, जसले रोग प्रतिरोध क्षमता बढाउने, पेट सफा गर्ने र शरीरमा ऊष्मा सञ्चार गर्ने आयुर्वेदिक मान्यता छ।
यसैदिन दिदीबहिनीहरूले दाजुभाइलाई राखी बाँधेर पर्व मनाउने परम्परा छ, जसले आपसी प्रेम र आत्मीयता बढाउने विश्वास गरिन्छ। हाल यो प्रचलन पहाडी क्षेत्रमा पनि विस्तार हुँदै गएको छ।