कास्की, साउन २४ — जिल्ला प्रहरी कार्यालय कास्कीले करिब ६.५ किलो अवैध सुनसहित ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। शुक्रबार दिउँसो ४ बजेबाट सुरु भएको विशेष अपरेसनमार्फत रातभरको अभियानपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
शनिबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियाले पक्राउ परेकासँग ६ किलो ४ सय ग्राम सुन, ४४४ तोला चाँदी तथा नगद ५ लाख १४ हजार ६ सय ६५ रुपैयाँ बरामद भएको जानकारी दिनुभयो। बरामद सुनको बजार मूल्य करिब १० करोड ९७ लाख रुपैयाँ हुने प्रहरीले जनाएको छ।
बरामद सामग्रीसहित पक्राउ परेकालाई आवश्यक कारबाही र थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइने बताइएको छ।
गोप्य सूचनाका आधारमा प्रहरीले पोखरा महानगरपालिका–२, ३, ४ र ९ का केही क्षेत्रमा भइरहेको अवैध सुन–चाँदी कारोबारमा छापा मारेको हो।
पक्राउ पर्नेमा—
राजेन्द्र रामचन्द्र जगताप (४१ वर्ष)
मनिकलाल आदक (४५ वर्ष)
सन्दीप ढाव (३५ वर्ष)
सोमनाथ पाल (४१ वर्ष)
दीपक सामन्त (४७ वर्ष)
गोविन्दा दिण्डा (४७ वर्ष)
असित वर (३५ वर्ष)
तापस सामन्त (४४ वर्ष)
उज्वल भोमिक (३८ वर्ष)
सुनिता पवार (४० वर्ष)
प्रोभास माझी (४९ वर्ष)
प्रहरीका अनुसार सबै जना भारतको कोलकाता र पश्चिम बङ्गालका स्थायी बासिन्दा हुन् र लामो समयदेखि पोखरामा सुन–चाँदी कालिगढका रूपमा कार्यरत थिए।