आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News रवि लामिछानेलाई भट्टराईको समर्थन: “जनताको प्रतिनिधिलाई थुनामा राख्नु अनुचित”

रवि लामिछानेलाई भट्टराईको समर्थन: “जनताको प्रतिनिधिलाई थुनामा राख्नु अनुचित”

98

भैरहवा, साउन २२—पूर्वप्रधानमन्त्री  डा. बाबुराम भट्टराईले भैरहवा जिल्ला कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेटघाट गरेका छन्।

लुम्बिनी प्रदेशस्तरीय पार्टी बैठकमा सहभागी हुन भैरहवा आएका भट्टराईले लामिछानेलाई भेटेर उनको स्वास्थ्य अवस्थालगायत हालको अवस्था बुझेका हुन्। भेटपश्चात सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले भने, “रवि लामिछानेलाई मुद्दा लड्न थुनाबाट बाहिर राख्नुपर्छ। उनी निर्वाचित सांसद हुन्, भाग्ने वा नयाँ अपराध गर्ने सम्भावना छैन।”

भट्टराईले लामिछानेलाई थुनामा राखेर मुद्दा लड्न नदिइनु लोकतान्त्रिक मूल्यविपरीत भएको बताए। उनले सभामुखसँग जमानतमार्फत लामिछानेलाई रिहा गर्ने वा सांसद पद खाली गरेर नयाँ चुनावको विकल्पबारे समेत छलफल भइसकेको जानकारी दिए।

कारागारको अवस्था प्रति चिन्ता व्यक्त गर्दै भट्टराईले लामिछानेलाई पत्रपत्रिका समेत पढ्न नदिइएको र उनी एक्लै साँघुरो कोठामा राखिएको उल्लेख गरे। “सूचनाबाट बञ्चित गर्नु उचित होइन,” भट्टराईले भने, “जेलको कोठा हेर्दा मलाई नै असहज लाग्यो, म सम्बन्धित निकायसँग कुरा गर्छु।”

भट्टराईले राजनीतिक सद्भावका कारण लामिछानेलाई भेट्न पुगेको प्रस्ट्याउँदै सरकारप्रति प्रतिशोधको राजनीति नगर्न आग्रह गरे। उनले लामिछानेको पक्षमा न्याय सुनिश्चित गर्न आफू हस्ताक्षर संकलनमा पनि सक्रिय रहेको जानकारी गराए।