बुटवल, साउन २२
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी अभियोगमा रूपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न माग गर्दै अदालतमा निवेदन दिएका छन्।
लामिछानेले साउन १९ गते रूपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गरेका हुन्। उनले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ को आधारमा बैंक जमानतमा रिहा गर्न माग गरेका छन्। आफू सहकारी ठगीमा संलग्न नरहेको दाबी गर्दै, आफूले संलग्न नभएको विषयमा थुनामा राखिएको भन्दै राजनीतिक प्रतिशोधको सन्दर्भ पनि निवेदनमा उल्लेख गरिएको छ।
उनको दाबी अनुसार, सहकारीमा आफू संलग्न नभए पनि यदि आफूले पाउनु पर्ने जिम्मेवारी ठहरिएमा सो बराबरको बिगो रकम बैंक जमानतको रूपमा राख्न तयार रहेको बताएका छन्।
रास्वपा रूपन्देहीका सभापति डा. बुद्धिप्रसाद शर्माले लामिछानेले निवेदन दिएको जानकारी अदालतमा निवेदन दर्ता भएको चार दिनपछि मात्रै बिहीबार (साउन २२ गते) थाहा भएको बताएका छन्।
अब अदालतले निवेदनमा छलफल गर्दै लामिछानेको थुनामुक्तिको विषयमा निर्णय लिने प्रक्रिया अघि बढ्नेछ।