आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News २३ वर्षपछि बच्चाको हत्या आरोपमा फरार महिला पक्राउ

२३ वर्षपछि बच्चाको हत्या आरोपमा फरार महिला पक्राउ

96

दाङ्ग, साउन २२ : दाङमा २३ वर्षअघि भएको बच्चा हत्याको अभियोगमा फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। गढवा गाउँपालिका–७, मानपुरकी ५० वर्षीया बसन्ता शर्मा पण्डितलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको टोलीले काठमाडौं प्रहरीसँगको समन्वयमा उनलाई साउन २० गते पक्राउ गरेको हो। घटनाको विषयमा दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अर्जुनप्रसाद तिमिल्सिनाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन्।

बसन्ता शर्माले २०५९ सालमा आफ्नै सौताको छोराको हत्या गरेकी थिइन्। उक्त घटनापछि उनी फरार रहेकी थिइन्। अदालतले सो क्रममा उनलाई १० वर्ष कैद सजाय तोकेको भए पनि उनी कानूनी दायराबाट उम्किएर फरार रहँदै आएकी थिइन्।

प्रहरीका अनुसार हाल उनलाई आवश्यक कारबाहीका लागि अदालतमा उपस्थित गराउने प्रक्रिया अघि बढाइएको छ। लामो समयपछि अपराधीलाई पक्राउ गर्नु प्रहरीका लागि महत्वपूर्ण सफलता भएको प्रहरीले जनाएको छ।