आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News सप्तरीमा प्रहरीको गोली लागेर युवकको मृत्यु, आक्रोशित स्थानीयद्वारा प्रदर्शन

सप्तरीमा प्रहरीको गोली लागेर युवकको मृत्यु, आक्रोशित स्थानीयद्वारा प्रदर्शन

130

राजविराज, साउन २१ — सप्तरीको राजगढ गाउँपालिकामा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन्। मृतकका आफन्त र स्थानीयले प्रहरीको कारबाहीप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन गरेका छन्।

मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति प्रहरीले गोली चलाउँदा ३६ वर्षीय लालु यादवको घटनास्थलमै मृत्यु भएको हो। उनी राजगढ गाउँपालिका–२, कमलपुरका बासिन्दा थिए।

प्रहरी स्रोतका अनुसार रातिको समयमा तस्करी भईरहेको सूचना पाएपछि टोली परिचालन गरिएको थियो। सो क्रममा नियन्त्रणमा लिन खोज्दा प्रतिकार भएपछि प्रहरीले गोली चलाउनुपरेको दाबी गरिएको छ।

तर मृतकका आफन्त र स्थानीयवासीहरूले भने घटनालाई निर्दोष नागरिकमाथिको बल प्रयोग भन्दै विरोध जनाएका छन्। बुधबार बिहानैदेखि स्थानीयले जिल्ला प्रहरी कार्यालय, सप्तरीको गेटमा टायर बालेर सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले “गोली चलाउने प्रहरीलाई कारबाही गर”, “न्याय चाहियो”, “सत्यतथ्य छानबिन गर” भन्ने नारासहित प्रदर्शन जारी राखेका छन्। अवस्था तनावग्रस्त बन्दै गएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुखले भने घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको र घटनाको निष्पक्ष छानबिन हुने आश्वासन दिएका छन्।