आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News भाठा मन्दिर निर्माणमा कमिशनको आरोप, मन्त्री प्रमोद जयसवाल विवादमा

भाठा मन्दिर निर्माणमा कमिशनको आरोप, मन्त्री प्रमोद जयसवाल विवादमा

189

वीरगञ्ज, साउन २०

पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका अन्तर्गत निर्माणाधीन दुधेश्वरनाथ भाठा मन्दिरको काममा मधेश प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री प्रमोद जयसवालमाथि कमिशनको गम्भीर आरोप लागेको छ।

भाठा मेला समितिका अध्यक्ष गेनालाल पटेलले आइतबार आयोजित पत्रकार सम्मेलनमा खुलासा गरेका अनुसार, मन्त्री जयसवालले उक्त योजनाको ठेक्का स्वीकृत गराउनका लागि ठेकेदारमार्फत पाँच लाख रुपैयाँ कमिशन मागेका थिए।

उनका अनुसार, “काम ल्याउन मेरो पाँच लाख खर्च भएको छ, पाँच लाख दिनुस् अनि मात्र काम हुन्छ भनेका थिए। हामीले पैसा नदिएपछि ठेकेदार राजेश पटेलले मन्त्रीलाई फोन गरेका थिए। फोनमा मन्त्रीले ‘पाँच लाख नदिनुस्, तीन लाख दिनुस्’ भनेका थिए। त्यसपछि समितिका सदस्य बासदेव दास थारुमार्फत तीन लाख रुपैयाँको चेक दिइयो र काम थालियो,” अध्यक्ष पटेलले बताए।

पत्रकार सम्मेलनमा समितिका २० भन्दा बढी सदस्यहरू पनि उपस्थित थिए, जसले यो घटनाको प्रत्यक्ष साक्षी रहेको दाबी गरिएको छ। कमिशनको रकम तिरेपछि मात्रै निर्माण कार्य सुरु भएको अध्यक्ष पटेलको भनाइ छ।

यसअघि पनि मन्त्री जयसवालमाथि विभिन्न योजनामा कमिशन लिएर स्वीकृति दिने गरेको आरोप लाग्दै आएको थियो। नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादवले समेत मन्त्री जयसवालको राजीनामा माग गर्दै पार्टी बैठकमा आवाज उठाएका थिए।

आरोप अनुसार, मन्त्री जयसवालले कतिपय योजनामा बजेट नै विनियोजन नगरी ३–५ प्रतिशत कमिशनको आधारमा योजना “बेचेको” दाबी गरिएको छ।

सार्वजनिक आक्रोश र छानबिनको माग

यो प्रकरणले प्रदेश सरकारको योजना कार्यान्वयन प्रक्रिया र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ। स्थानीय नागरिक, नागरिक समाज तथा विभिन्न राजनीतिक दलहरूले निष्पक्ष छानबिनको माग गर्दै मन्त्रीको भूमिका स्पष्ट पार्न दबाब दिन थालेका छन्।

सरकारी योजना पारदर्शी र प्रभावकारी बनाउन मन्त्रीस्तरका व्यक्तिमाथि लागेको आरोपको निष्पक्ष छानबिन गरी दोषी पुष्टि भएमा कानुनी कारबाही हुनुपर्ने माग व्यापक रूपमा उठ्न थालेको छ।