जनकपुरधाम, २० साउन – नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश समितिले ऐतिहासिक उपलब्धि हासिल गर्दै जनकपुरधामको श्रीराम मन्दिर गुठीअन्तर्गतको चार कठ्ठा जग्गा लिजमा प्राप्त गरेको छ।
सोमबार काठमाडौंस्थित गुठी संस्थानको केन्द्रीय कार्यालयमा पत्रकार महासङ्घ मधेश प्रदेश का अध्यक्ष श्याम बन्जारा र गुठी संस्थानका प्रमुख प्रशासकीय अधिकृत शैलेशराज कुँवरबीच औपचारिक सम्झौता सम्पन्न भयो।
अब सो जग्गामा आधुनिक, सुविधा सम्पन्न बहुउपयोगी भवन निर्माण प्रक्रिया तीव्र रूपमा अघि बढ्ने भएको छ।
महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’का अनुसार, सबै पत्रकारहरूको स्वामित्व हुनेगरी भवन निर्माण थालिनेछ। यसका लागि मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा बजेटसमेत सुनिश्चित गरिसकेको छ।
अध्यक्ष श्याम बन्जाराले यो सम्झौताले मधेशमा पत्रकारिता पूर्वाधारको नयाँ युगको थालनी गर्ने विश्वास व्यक्त गरे।