आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News वीरगन्जको मानवसेवा आश्रममा सहयोग गर्ने पर्साका सशस्त्र प्रहरी एसपी पुरन भट्टको प्रतिबद्धता

वीरगन्जको मानवसेवा आश्रममा सहयोग गर्ने पर्साका सशस्त्र प्रहरी एसपी पुरन भट्टको प्रतिबद्धता

123

वीरगन्ज, २० साउन – हालै मात्र सरुवा भई आएका सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द भट्टले मंगलबार वीरगन्जस्थित मानव सेवा आश्रमको अवलोकन गरेका छन्। अवलोकनको क्रममा एसपी भट्टले आश्रममा आश्रित लक्ष्मीनारायणहरूसँग समय बिताउँदै बिहानको भोजन सेवामा समेत सहभागिता जनाएका छन्।

सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट ड्राइपोर्ट वीरगन्जका निरीक्षक सुरेन्द्र राज खड्कासँग आश्रम पुगेका भट्टले त्यहाँ रहेका वृद्धवृद्धासँग संवाद गर्दै उनीहरूको अवस्था बुझेका थिए। उनले सशस्त्र प्रहरी बलको सामाजिक उत्तरदायित्व अन्तर्गत व्यक्तिगत तथा संस्थागत रुपमा आगामी दिनमा मानव सेवा आश्रमलाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

मानव सेवा आश्रमको समाजसेवी कार्यप्रति प्रशंसा व्यक्त गर्दै एसपी भट्टले सामाजिक सेवामा सशस्त्र प्रहरी बलको भूमिका सशक्त रूपमा प्रस्तुत गरिने उल्लेख गरे।

अवलोकनको अवसरमा मानव सेवा आश्रम वीरगन्जका संस्थापक सदस्य देवेश गुप्ता, ओम कुमार झा, संयोजक मुना मगर पुलामी, प्रदुमन सर्राफ, पवन कलवार, आयुष गिरी लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।