वीरगञ्ज, २० साउन — भारतका पाँच पटकका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गर्दै म्याट्रिक फाइटनाइट १७ (एमएफएन १७) को उपाधि जितेका नेपाली फाइटर रविन्द्र ढाँटलाई सखुवा प्रसौनी गाउँपालिकाले नगद १ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ।
नोएडामा सम्पन्न मिक्स्ड मार्सल आर्ट्स (एमएमए) प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ढाँटले भारतकै भूमिमा भारतीय च्याम्पियन कोरेनलाई पराजित गरेपछि बान्टमवेट च्याम्पियनको उपाधि जितेका हुन्। एमएफएनको च्याम्पियन बन्ने उनी पहिलो नेपाली फाइटरसमेत हुन्।
सोमबार साँझ गाउँपालिका अध्यक्ष यशवन्त यादवले ढाँटलाई नगद १ लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेका हुन्। “भारतको भूमिमा नेपाली खेलाडीले भारतीय च्याम्पियनलाई हराएर इतिहास रच्नु गौरवको कुरा हो,” अध्यक्ष यादवले भने, “यस उपलब्धिको सम्मानस्वरूप हामीले नगदसहित ढाँटलाई गाउँमै सम्मान गर्ने निर्णय गरेका छौँ।”
यदि ढाँट कुनै कारणवश गाउँमै उपस्थित हुन नसके, गाउँपालिकाले काठमाडौंमै गएर उनलाई सम्मान गर्ने बताउँदै यादवले थपे, “खेलाडीहरू राष्ट्रको गहना हुन्, उनीहरूको आत्मबल उच्च राख्न सरकारले समेत ध्यान दिनुपर्छ।”
ढाँटको यो ऐतिहासिक जितले नेपाली खेलकुद क्षेत्रमा थप प्रेरणा दिने विश्वास लिइएको छ। गाउँपालिका अध्यक्ष यादवले यस्तो सफलतालाई राष्ट्रिय गर्वका रूपमा हेरिनुपर्ने बताए।