उत्सव खबर, साउन २० – ब्राजिलमा एक २० वर्षीया युवतीको बसमा यात्रा गरिरहँदा मृत्यु भएको घटना अहिले चर्चामा रहेको छ। प्रारम्भिक रिपोर्ट अनुसार, युवतीको मृत्यु हृदयाघातका कारण भएको बताइए पनि उनको शरीरमा २६ वटा आइफोन भेटिएपछि घटना थप रहस्यमय बनेको छ।
जुलाई २९ का दिन ती युवती एक्लै यात्रा गर्दै साओ पाउलो जाँदै थिइन्। यात्रा क्रममा उनले सास फेर्न गाह्रो भएको गुनासो गरेपछि बस कर्मचारीहरूले तुरुन्तै चिकित्सकलाई खबर गरेका थिए। चिकित्सकको टोलीले करिब ४५ मिनेटसम्म उनलाई बचाउने प्रयास गरे पनि सफल हुन सकेनन् र उनलाई घटनास्थलमै मृत घोषणा गरियो।
चिकित्सकहरूले प्रारम्भिक परीक्षण गर्दा उनको शरीरमा केही संकास्पद प्याकेटहरू टाँसिएको देखे। ती प्याकेटहरू ध्यानपूर्वक खोल्दा ती सबै आइफोनले भरिएको पुष्टि भयो। प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ कि ती युवती आइफोन तस्करीमा संलग्न थिइन् र उनले ती मोबाइलहरू आफ्नो शरीरमा टाँसेर लुकाएकी थिइन्।
हाल प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ। फरेन्सिक रिपोर्टको प्रतीक्षा भइरहेको बताइएको छ, जसबाट मृत्युको वास्तविक कारण पत्ता लाग्नेछ। प्रहरीले शंका गरेको छ कि अत्यधिक फोन शरीरमा बोकेर हिँड्नाले शारीरिक दबाब परेको र त्यसले हृदयाघातको कारण बनेको हुन सक्छ।
ब्राजिलमा स्मार्टफोन तस्करी सामान्य मानिन्छ। रिपोर्टअनुसार, प्रत्येक दिन झण्डै १० हजार मोबाइल फोन तस्करी गरिन्छ। छिमेकी मुलुक पाराग्वेबाट सस्तोमा फोन ल्याएर ब्राजिलको कालो बजारमा बेच्ने गिरोह सक्रिय छन्।