आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशले भव्य भवन निर्माणको तयारी

नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशले भव्य भवन निर्माणको तयारी

142

नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशले भव्य भवन निर्माणको तयारी

राजु साह,

जनकपुरधाम, साउन ११ – नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशले पत्रकारहरूको पेशागत सशक्तीकरण तथा संस्थागत विकासका लागि प्रदेशस्तरीय भव्य भवन निर्माणको तयारी थालेको छ। आइतबार अध्यक्ष श्याम बन्जारा, महासचिव शैलेश क्रान्ति, केन्द्रिय सदस्य राजेश कर्णलगायत पदाधिकारी र सदस्यहरूको उपस्थितिमा भवन निर्माण सम्बन्धी विस्तृत छलफल भएको हो।

जनकपुरधामस्थित ४ कट्ठा जमिनमा निर्माण हुने सो भवन आधुनिक सुविधायुक्त हुने जनाइएको छ। प्रस्तावित भवनमा कार्यालय कक्ष, सम्मेलन हल, सञ्चार तालिम केन्द्र लगायतका संरचनाहरू समावेश गरिनेछ। प्रारम्भिक डिजाइन तथा लागत अनुमान तयार पार्न प्राविधिक परामर्शदातासँग समन्वय गरिने महासङ्घले जनाएको छ।

महासङ्घका अध्यक्ष बन्जाराले भवन निर्माणको उद्देश्य पत्रकारहरूको हक–हितको संरक्षण, तालिम, सूचना पहुँच तथा समन्वय सञ्जालको विस्तारलाई सुदृढ बनाउनु रहेको बताए। सो भवनलाई मधेश प्रदेशको पत्रकारिता केन्द्रका रूपमा विकसित गरिने लक्ष्य राखिएको छ।

सदस्यता नवीकरणबारे पनि छलफल
यसैगरि नेपाल पत्रकार महासंघ मधेश प्रदेशको कार्यालयमा सदस्यता नविकरण बारे पनि वृहत छलफल भएको छ । जनकपुरस्थित कार्यालयमा भएको छलफलमा सदस्यता नवीकरण प्रक्रियाको अवस्थाबारे समेत चर्चा गरिएको थियो। सदस्यता नवीकरण कार्यलाई पारदर्शी, समावेशी र समयमै सम्पन्न गर्न महासङ्घले सक्रियता बढाउने अध्यक्ष बन्जाराले जानकारी दिए ।“

हामी पत्रकारहरूको पेशागत मूल्य–मान्यता जोगाउन तथा संस्थाको संगठनात्मक मजबुतीका लागि सदस्यता नवीकरणलाई अत्यन्त गम्भीरतापूर्वक लिएका छौँ। समयमै प्रक्रिया पूरा गर्न सबैलाई आग्रह गर्दछौँ।” अध्यक्ष बन्जाराले भने,

छलफलमा सहभागी सदस्यहरूले सदस्यता नवीकरण प्रक्रियामा देखा परेका समस्या, सुझाव तथा सुधारका उपायबारे पनि आफ्ना विचार व्यक्त गरेका थिए। महासङ्घले पत्रकार परिचयपत्र वितरण तथा नयाँ सदस्यता दर्ता प्रक्रिया पनि सहज बनाउने प्रतिबद्धता जनाएको छ।