आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News सखुवा प्रसौनीमा सीमान्तकृत समुदायको प्रतिनिधित्वबारे अन्तर्क्रिया सम्पन्न

सखुवा प्रसौनीमा सीमान्तकृत समुदायको प्रतिनिधित्वबारे अन्तर्क्रिया सम्पन्न

145

सखुवा प्रसौनीमा सीमान्तकृत समुदायको प्रतिनिधित्वबारे अन्तर्क्रिया सम्पन्न

११ साउन, उत्सव खबर – पर्साको सखुवा प्रसौनी गाउँपालिकामा ‘स्थानीय नीतिमा सीमान्तकृत समुदायको प्रतिनिधित्वको सवाल’ विषयक अन्तर्क्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ। ब्रिटिस काउन्सिल र दलित लिभ्स म्याटर ग्लोबल एलायन्सको सहकार्यमा पिसफोर दलित फाउन्डेसन नेपाल, पर्साले कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा स्थानीय सरकारले निर्माण गरेका नीति, नियमावली तथा कार्यविधिहरुमा सीमान्तकृत समुदायको सहभागिता र अवसरका विषयमा विस्तृत छलफल भएको थियो।

सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले आफ्नो पालिकामा दलित, विपन्न र सीमान्तकृत समुदायका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए। उनले यी समुदायका लागि थप प्रभावकारी नीति, रणनीति तथा ऐन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै गाउँपालिकालाई दलित मैत्री बनाउने लक्ष्य रहेको बताए।

अध्यक्ष यादवले पिसफोर दलित फाउन्डेसनको सहकार्यले गाउँपालिकालाई अझ जिम्मेवारीपूर्वक काम गर्न प्रेरित गरेको उल्लेख गर्दै, दैवी प्रकोपबाट बढी प्रभावित हुने समुदायका लागि स्वास्थ्य सेवा र जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।

सामाजिक विकास शाखा प्रमुख विनोद यादवले पालिकाले सीमान्तकृत र दलित युवायुवतीका लागि क्षमता अभिवृद्धि तथा सीप विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सीपमूलक तालिम र गाउँमै स्वरोजगारका अवसर सिर्जना गर्ने उद्देश्यका कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी गराए।

दलित लिभ्सका प्रतिनिधि राजकुमार खत्रीले पालिकामा अझै केही नीति तथा कार्यविधि निर्माणको आवश्यकता रहेको बताए। पिसफोर दलित फाउन्डेसन पर्साका अध्यक्ष मनोज रामले सीमान्तकृत समुदायको हितमा आवश्यक नीति निर्माणमा संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रमको सहजीकरण फाउन्डेसनका कार्यक्रम निर्देशक वेद प्रसाद रौनियारले गरेका थिए। अध्यक्ष मनोज रामको अध्यक्षता र गाउँपालिका अध्यक्ष यशवन्त यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, दलित महिला वडासदस्य तथा दलित समुदायका अगुवाहरुको उल्लेख्य सहभागिता रहेको थियो।