आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News मधेश प्रदेशका ८ जिल्लाको कृषि ज्ञान केन्द्रबाट भूमिगत सिंचाई व्यवस्थापन सहयोगका लागि आवेदन खुला 

मधेश प्रदेशका ८ जिल्लाको कृषि ज्ञान केन्द्रबाट भूमिगत सिंचाई व्यवस्थापन सहयोगका लागि आवेदन खुला 

207

भूमिगत सिंचाई व्यवस्थापन सहयोगका लागि आवेदन खुला 

मधेश प्रदेश सरकार अन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कृषि विकास निर्देशनालय अन्तर्गतको कृषिज्ञान केन्द्र ले “सुरक्षा तथा खडेरीबाट तत्काल राहतका लागि भुमिगत सिंचाई व्यवस्थापन सहयोग कार्यक्रम” अन्तर्गत आवेदन आह्वान गरेको छ।

जनकपुरधाम, साउन १२ – मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय जनार्दन सिंह क्षेत्रीको विशेष पहलमा खडेरी र सुख्खा प्रभावित कृषकहरूलाई लक्षित गर्दै भूमिगत सिचाइ (बोरिङ) तथा मोटर जडानका लागि राहत कार्यक्रम संचालनमा आएको छ।

कृषि मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालयले सञ्चालन गर्ने यस कार्यक्रमबाट कृषकहरूले भूमिगत सिचाइ सुविधा स्थापना गर्न सहयोग पाउनेछन्। मधेश प्रदेशका सबै ८ वटा जिल्लाका कृषि ज्ञान केन्द्रहरूमा तोकिएको मापदण्डअनुसार आवेदन दिने व्यवस्था मिलाइएको छ।

हाल धनुषा, रौतहट र सप्तरी जिल्लाको कृषि ज्ञान केन्द्र, ले पहिलो पटक सूचना प्रकाशित गर्दै इच्छुक कृषकहरूलाई आवेदन दिन ७ दिनको समयावधि तोकेको छ। आवेदन दिने कृषकहरूले आवश्यक कागजातहरू संलग्न गरेर तोकिएको नमुनामा फारम पेश गर्नुपर्नेछ।

यस कार्यक्रमअन्तर्गत सिचाइको सुविधा नभएको, खडेरीबाट प्रभावित क्षेत्रका कृषकहरूलाई राहत दिने उद्देश्य राखिएको छ। कार्यक्रमका सम्बन्धमा थप जानकारीका लागि https://akcdhanusha.gov.np वेबसाइटमा सम्पर्क गर्न सकिनेछ।

आवेदन दिनुपर्ने प्रमुख कागजातहरू:

१. फारममा रु. १० को टिकट टाँस गरिएको अनुसूची २ र ३ बमोजिमको आवेदन

२. नागरिकताको प्रतिलिपि

३. कृषि शाखा वा वडा कार्यालयको सिफारिस

४. जग्गा धनी प्रमाण–पुर्जा

५. मालपोत तिरेको रसिद

६. जग्गाको प्रमाण नक्शा

७. सिचाइ योजना कार्यान्वयन गर्ने स्थानको स्वघोषणा र फारम

मधेश प्रदेश सरकारले कृषकको समस्या समाधानका लागि चालेको यो कदमले कृषि उत्पादनमा सुधार ल्याउने विश्वास गरिएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीको अगुवाइमा कृषकमुखी नीति र कार्यक्रमहरूको विस्तार भइरहेका छन्।