आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News नेटवर्किङ धन्दाको पर्दाफास, करोडौं ठगीको आरोपमा आठ जना पक्राउ

नेटवर्किङ धन्दाको पर्दाफास, करोडौं ठगीको आरोपमा आठ जना पक्राउ

157

सुर्खेत, ६ साउन – उत्सव खबर:   बेरोजगार युवायुवतीलाई रोजगारी दिने लोभ देखाई करोडौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले सुर्खेतबाट एक गिरोहलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले स्काई ड्रिम ईन्टरपेनर्स प्रालि र ग्लोबल ओरियन्स नेपाल प्रालिका सञ्चालक तथा कर्मचारीहरू गरी आठ जनालाई नियन्त्रणमा लिएको हो।  पक्राउ पर्नेहरूमा डोटीको सायल गाउँपालिका–२ का २६ वर्षीय नरेश बोहोरा -सञ्चालक_, दार्चुला महाकाली नगरपालिका–४ का २४ वर्षीय कृष्ण धामी, अछाम कमलबजार नगरपालिका–६ का २४ वर्षीय कमल शाही, र २२ वर्षीय रबिन्द्र शाही रहेका छन्। त्यस्तै, दोधाराचाँदनी नगरपालिका–२ की २२ वर्षीया मनिषा सिंह, कञ्चनपुर बेल्डाडी गाउँपालिका–१ की २१ वर्षीया निर्मला धामी, बैतडी सिगास गाउँपालिका–६ की २२ वर्षीया सुनिता साउँद र डोटी बडिकेदार गाउँपालिका–४ की २२ वर्षीया कमला चिमालालाई पनि पक्राउ गरिएको छ।

प्रहरी नायव उपरीक्षक -डीएसपी_ मोहनजंग बुढथापाका अनुसार, गिरोहले वीरेन्द्रनगर नगरपालिका–३, मुलपानी चोकमा कार्यालय स्थापना गरी विभिन्न जिल्लाका युवायुवतीलाई रोजगारी दिने बहानामा आकर्षित गरेर ठगी गर्दै आएको थियो। कम्पनीले वार्षिक २० हजार रुपैयाँ शुल्क तिरेपछि तालिम, आवास तथा खानाको व्यवस्था र आकर्षक तलबसहितको रोजगारी दिने आश्वासन दिंदै सदस्यता दिन्थ्यो। सदस्य बनेपछि पीडितहरूलाई नेटवर्किङ मार्केटिङमा संलग्न गराइन्थ्यो र नयाँ सदस्य ल्याउन दबाब दिइन्थ्यो। पीडितहरूका अनुसार, प्रत्येक नयाँ सदस्य बनाए बापत ५० हजारदेखि २ लाख ६० हजार रुपैयाँसम्म असुल गरिन्थ्यो। यसरी स्काई ड्रिम ईन्टरपेनर्स र ग्लोबल ओरियन्स नेपाल प्रालिले सयौं युवायुवतीबाट करोडौं रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको बुढथापाले बताए ।‎ग्लोबल ओरियन्स नेपाल नामक कम्पनी नेटवर्किङ व्यवसायको नाममा देशका अन्य भागमा पनि विवादमा परेको देखिन्छ । यसअघि पोखरा, बर्दिया र टीकापुर लगायतका स्थानमा पनि यस कम्पनीले आकर्षक तलबको लोभ देखाएर युवाहरूलाई ठगी गरेको आरोपमा प्रहरीले कारबाही चलाएको थियो ।