Home Breaking News रुसको अमुरमा विमान दुर्घटना , सबै ४९ जनाको मृत्युको आशंका

रुसको अमुरमा विमान दुर्घटना , सबै ४९ जनाको मृत्युको आशंका

107

काठमाडौं, ८ साउन, उत्सव खबर — रुसमा दुर्घटनामा परेको विमानमा सवार सबै ४९ जनाको मृत्यु भएको आशंका गरिएको छ । बेलायती समाचार संस्था रोयटर्सका अनुसार रुसको सुदूरपूर्वी क्षेत्र अमुरस्थित टिन्डाको जंगलमा सोभियत युगको पुरानो एन्टोनोभ एएन–२४ मोडेलको विमान बिहीबार दुर्घटनामा परेको हो । रुसी आपतकालीन सेवा अधिकारीहरूले जनाए अनुसार, दुर्घटनाग्रस्त विमानमा ४३ जना यात्रु र ६ जना चालक दलका सदस्य, गरी कुल ४९ जना सवार थिए। यात्रुहरूमा ५ जना बालबालिका पनि रहेको पुष्टि गरिएको छ। अमुर क्षेत्रीय गभर्नर भासिली ओर्लोभले उद्धार र खोजी कार्यमा कुनै कसर बाँकी नराखिएको बताएका छन्। उनका अनुसार, विमानको खोजीका लागि हेलिकप्टर, ड्रोन र स्थलमार्गबाट उद्धार टोली परिचालन गरिएको थियो। अंगारा एयरलाइन्सद्वारा सञ्चालित सो एएन २४ विमान गन्तव्यबाट करिब १६ किलोमिटर टाढा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो। सन् १९७६ मा बनेको यो विमान करिब ५० वर्ष पुरानो भएको बताइएको छ । दुर्घटनापछि जंगलमा आगो बलिरहेको हेलिकप्टरमा सवार भएका व्यक्तिहरुले देखेपछि सुरक्षाकर्मीलाई खबर गरेका थिए । प्रारम्भिक जानकारी अनुसार मौसमका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ, यद्यपि वास्तविक कारणको पुष्टि अनुसन्धानपछि मात्र हुने जनाइएको छ। हाल उद्धार टोलीले घटनास्थलमा उद्धार कार्य तीव्र बनाएको छ र यात्रुहरूको अवस्थाबारे थप जानकारी संकलन भइरहेको छ।