आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News युट्युबको नयाँ नीतिः दोहोरिने र एआई सामग्री भएका च्यानललाई अब मोनेटाइजेशन कठिन

युट्युबको नयाँ नीतिः दोहोरिने र एआई सामग्री भएका च्यानललाई अब मोनेटाइजेशन कठिन

177

असार २८, २०८२ शनिबार

उत्सव खबर

भिडियो स्ट्रिमिङ सेवाको अग्रणी प्लेटफर्म युट्युबले आफ्नो मुद्रीकरण  मोनेटाइजेशन नीति कडा बनाउँदै जुलाई १५, २०२५ देखि नयाँ नियम लागू गर्ने भएको छ। युट्युब पार्टनर प्रोग्राम (YPP) अन्तर्गत लागू हुने यो नीति मुख्यतः दोहोरिने, अप्रमाणिक र एआईले उत्पन्न गरेका सामग्री विरुद्ध लक्षित गरिएको छ।

युट्युबका अनुसार, पछिल्लो समय प्लेटफर्ममा मौलिकता नहुने, दोहोरिएर अपलोड गरिने तथा कम गुणस्तरका एआई सामग्रीको संख्या तीव्ररूपमा बढिरहेको छ। यस्तो प्रवृत्तिलाई रोक्न र सिर्जनशील तथा मौलिक सामग्रीलाई प्रवर्द्धन गर्न कम्पनीले यो नीतिगत कदम चालेको हो।

मुद्रीकरणको सर्त यथावत्, तर गुणस्तरमा कडाइ
हालसम्म जस्तै, युट्युब च्यानललाई मुद्रीकरण गर्न कम्तीमा

१,००० सब्सक्राइबर हुनु आवश्यक छ, र

१२ महिनामा ४,००० सार्वजनिक हेर्ने घण्टा वा

९० दिनमा १ करोड सर्ट्स भ्यू पूरा गर्नुपर्नेछ।

तर अब यी प्राविधिक सर्त मात्र पर्याप्त हुने छैनन्। सामग्री मौलिक, प्रमाणिक र दर्शकका लागि मूल्ययुक्त हुनुपर्नेछ। दोहोरिएका भिडियोहरू, पुनः प्रयोग गरिएको सामग्री, वा केवल एआईको भरमा बनाइएका भिडियोहरूमाथि विज्ञापन आयमा कटौती गरिनेछ, र कडा अवस्थामा च्यानल नै विमुद्रीकरण (demonetized) हुन सक्नेछ।
सामग्री सिर्जनाकर्ताहरूलाई अब सिर्जनशीलता, मौलिकता र प्रमाणिकतामा विशेष ध्यान दिनुपर्नेछ। एआईको प्रयोग पूर्णतः वर्जित भने छैन, तर त्यसको प्रयोग सहयोगी उपकरणका रूपमा मात्र गर्नुपर्नेछ।