आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News रानीवास संग्रहालय निर्माणमा भ्रष्टाचार , चार कर्मचारीविरुद्ध अख्तियारको सर्वोच्चमा पुनरावेदन

रानीवास संग्रहालय निर्माणमा भ्रष्टाचार , चार कर्मचारीविरुद्ध अख्तियारको सर्वोच्चमा पुनरावेदन

136

उत्सव खबर वीरगंज
काठमाडौँ, २७ असार २०८२ — बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित चार जना कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ। आयोगले शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन दायर गर्दै विशेष अदालतले दिएको फैसलाप्रति असहमति जनाएको हो। अख्तियारका अनुसार सिम्रौनगढ नगरपालिका वडा नं। २ मा रहेको रानीवास संग्रहालय भवन निर्माण कार्यमा ठगी तथा अनियमितता गरिएको आरोपमा उनीहरूविरुद्ध मुद्दा अघि बढाइएको थियो। पुनरावेदनमा परेका व्यक्तिहरूमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानु, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी, इन्जिनियर सुरेश कुमार यादव र सब(इन्जिनियर उपेन्द्र कुशवाहा रहेका छन्।

आयोगको दाबी अनुसार ती कर्मचारीहरूले निर्माण कार्य इष्टिमेट बमोजिम नगरी कामको परिमाण कृत्रिम रूपमा बढाएर झुट्टा बिल बनाएका थिए। साथै, गलत प्रतिवेदन तयार गरी वास्तविकभन्दा धेरै रकम भुक्तानी लिएर सरकारी कोषमा हानी पुर्‍याएको पाइएको छ। यिनै आरोपमा आयोगले विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरे पनि अदालतको फैसलाले न्याय सुनिश्चित नभएको ठहर गर्दै पुनरावेदन गरिएको हो। आयोगका अनुसार सरकारी कोषको दुरुपयोग रोक्न र सार्वजनिक पदधारीहरूलाई जवाफदेही बनाउने उद्देश्यले मुद्दालाई सर्वोच्च अदालतमा पुनरावलोकन गराइएको हो।