असार २९ वीरगंज
प्रख्यात दक्षिण भारतीय अभिनेता कोटा श्रीनिवास रावको आइतबार हैदराबादस्थित आफ्नो निवासमा निधन भएको छ। केही दिनअघि मात्र ८३ औं जन्मदिन मनाएका र लामो समयदेखि बिरामी रहँदै आएका रावले जुबली हिल्सस्थित आफ्नो बंगलामा अन्तिम सास फेरे। कोटा श्रीनिवासले आफ्नो पाँच दशकभन्दा लामो अभिनय यात्रामा तेलुगु, तमिल, कन्नड र हिन्दी भाषामा ७५० भन्दा बढी फिल्महरूमा अभिनय गरेका थिए। उनले मुख्यतः खलनायकको रूपमा दर्शकको मन जिते। सन अफ सत्यमूर्ति, टेम्पर, येवादु, सरकार, प्रतिघात, रक्त चरित्र, र बागी जस्ता फिल्महरूमा उनका भूमिकाले गहिरो छाप छाडेका छन्। उनको अन्तिम फिल्म ‘कब्जा’ हो, जहाँ उनले उपेन्द्र राव, किच्चा सुदीप, श्रिया शरण लगायतका कलाकारसँग काम गरेका थिए। फिल्ममा उनको उपस्थिति दर्शकलाई अझ एक पटक उनको प्रभावशाली अभिनय याद गराउने खालको थियो।
पद्मश्री सम्मानित अभिनेता
भारतीय चलचित्र क्षेत्रमा उल्लेखनीय योगदानका लागि उनलाई सन् २०१५ मा भारत सरकारद्वारा ‘पद्मश्री’ पुरस्कारबाट सम्मानित गरिएको थियो। उनी केवल एक सफल अभिनेता मात्र नभई राजनीतिमा पनि सक्रिय थिए। सन् १९९९ देखि २००४ सम्म उनी आन्ध्र प्रदेशको विजयवाडा पूर्व क्षेत्रका विधायक थिए।
श्रद्धाञ्जली
तेलंगाना राज्यका मुख्यमन्त्री रेवन्त रेड्डीले ट्विटरमार्फत श्रद्धाञ्जली दिँदै लेखेका छन्, “कोटा श्रीनिवास राव गरुको निधनले म गहिरो दुःखमा छु। उनले निर्वाह गरेका अमूल्य भूमिकाहरू सदा तेलुगु जनताको हृदयमा जीवित रहनेछन्।” त्यस्तै, आन्ध्र प्रदेशका मुख्यमन्त्री एन। चन्द्रबाबु नायडूले पनि समवेदना प्रकट गर्दै भने, “उनले सधैं आफ्ना भूमिकामार्फत दर्शकको मन जिते। भारतीय फिल्म उद्योगमा उनको योगदान सदैव सम्झिने छ।” कोटा श्रीनिवास रावको निधनले भारतीय चलचित्र क्षेत्रले एक अभूतपूर्व प्रतिभा गुमाएको छ। उनको अभिनय, बोली, शैली र पात्रमा समर्पण सधैं स्मरणीय रहनेछ। उनको आत्माको शान्तिको कामना गर्दै सम्पूर्ण फिल्म प्रेमीहरूले उनलाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।