पर्सा,१८ बैशाख — पर्साको पकहामैनपुर गाउँपालिका वडा नं–४ श्यामपुर भेलहामा निर्माण हुन लागेको रामजानकी मन्दिरको शिलान्यास गरिएको छ। मडैयामाई नजिक निर्माण गरिने उक्त मन्दिरको शिलान्यास मधेस प्रदेशका प्रदेश सांसद तथा नेपाली कांग्रेस पर्साका जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीले गरेका हुन्।
मधेस प्रदेश सरकारको २० लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको मन्दिर धार्मिक तथा सांस्कृतिक दृष्टिले स्थानीयवासीका लागि महत्वपूर्ण मानिएको छ। मन्दिर निर्माणले क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
शिलान्यास कार्यक्रममा विन्दवासनी गाउँपालिका अध्यक्षका प्रत्यासी विवेक चौरसिया, नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं–३ (ख) का सचिव राकेश कुशवाहा, कांग्रेस पर्सा सदस्य रामनिवास यादव, वडा अध्यक्ष मुकुट चौहानलगायत स्थानीय नेताहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
त्यसैगरी कार्यक्रममा ढेडी यादव, संजय चौहान, नरशुलाह मंसुरी, कृपासिन्धु मेहता, प्रमोद पटेल, अयोध्या चौहान, रामा यादवलगायत स्थानीय अगुवा तथा श्रद्धालुहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद क्षेत्रीले धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनसँगै स्थानीय विकासमा यस्ता पूर्वाधारहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।