काठमाडौं, १७ वैशाख — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल परिसरमा हुने अव्यवस्थित गतिविधि नियन्त्रण गर्न कडा निर्देशन जारी गरेको छ। मन्त्रालयद्वारा जारी आधिकारिक प्रेस विज्ञप्तिलाई कार्यान्वयनमा ल्याउँदै मन्त्री नीशा मेहताले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूका लागि नयाँ नियम लागू गरेकी हुन्।
नयाँ निर्देशन अनुसार अबदेखि सम्बन्धित संस्थाको पूर्वस्वीकृति विना अस्पताल परिसरमा भिडियो वा फोटो खिच्न, अन्तर्वार्ताको नाममा अनावश्यक भिडभाड गर्न तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीको काममा अवरोध पुर्याउन पूर्ण रूपमा निषेध गरिएको छ।
मन्त्रालयले स्पष्ट पारेअनुसार बिरामीको गोपनीयता हनन हुने तथा स्वास्थ्य सेवामा अवरोध सिर्जना गर्ने यस्ता गतिविधि गैरकानुनी मानिनेछ। यस्ता कार्यमा संलग्न जो–कोहीलाई ‘मुलुकी अपराध संहिता २०७४’ र ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ अनुसार कडा कारबाही गरिनेछ। यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई समेत औपचारिक जानकारी गराइसकिएको मन्त्रालयले जनाएको छ।
मन्त्री मेहताले उपचारका क्रममा कुनै कमजोरी भएको महसुस भएमा अस्पतालमा तोडफोड, होहल्ला वा अवरोध सिर्जना गर्नुको सट्टा सम्बन्धित निकायमा प्रमाणसहित उजुरी दिन आग्रह गरेकी छन्। मन्त्रालयले स्वास्थ्य सेवाको गुणस्तर सुधारसँगै सेवा वातावरण सुरक्षित राख्न यस्तो कदम चालिएको जनाएको छ।