काठमाडौँ, १६ बैशाख
सर्लाही–४ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजयपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग भेटघाट गर्न पुगेका नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले संसद् र नागरिक दुवैलाई हेपेको आरोप लगाएका छन्।
रौतहटको चन्द्रनिगाहपुरमा पार्टीका स्थानीय नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा थापाले प्रतिनिधिसभाको बैठक मिति तोकेर आह्वान गरिए पनि पछि कुनै सूचना नदिई बैठक स्थगित गरिएको विषयमा टिप्पणी गरेका हुन्।
उनले भने, “सरकारलाई अहिले संसद् र नागरिक दुवैप्रति विश्वास छैन। बहुमत प्राप्त सरकारले नै संसद्प्रति विश्वास नगर्नु गम्भीर विषय हो।”
थापाले संसद् छल्दै अध्यादेश ल्याउने अभ्यासप्रति पनि असन्तुष्टि व्यक्त गर्दै सरकारलाई पारदर्शिता नअपनाएको आरोप लगाए।
उनका अनुसार, संसद्को तयारी नभएको र सांसदहरूको अनुरोधमा बैठक स्थगित गरिएको भन्ने सरकारी दाबी “सरासर ढाँट्ने र हेप्ने काम” हो।