काठमाडौँ , १६ बैशाख — राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा सांसद महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार उनले आफूसँग करिब तीन तोला सुन, पोखरा महानगरपालिका–७ माझठानामा चार स्थानमा फैलिएको करिब २८ रोपनी जग्गा तथा विभिन्न बैंक खातामा रहेको नगद रकम उल्लेख गरेका छन्।
पुनका अनुसार उक्त २८ रोपनी जग्गा उनले वि.सं. २०५२ सालमा चार लाख रुपैयाँमा खरिद गरेका थिए। उनले सो जग्गामा गरिएको लगानी आफू अमेरिकाबाट फर्किंदा बचत भएको रकमबाट गरिएको बताएका छन्। सो जग्गा राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका लागि बिक्रीमा राखिए पनि हालसम्म बिक्री हुन नसकेको पनि उनले स्पष्ट पारेका छन्।
त्यस्तै, उनले वि.सं. २०६० सालमा तीन तोला सुन खरिद गरेको उल्लेख गरेका छन्। उक्त सुनको स्रोतका रूपमा श्रीमतीलाई इष्टमित्रहरूले उपहारस्वरूप दिएको उल्लेख गरिएको छ।
वित्तीय विवरणअनुसार पुनसँग नेपाल बैंक लिमिटेडमा चार लाख रुपैयाँ नगद मौज्दात रहेको छ। उक्त रकम व्यक्तिगत खर्चका लागि साथीभाइबाट प्राप्त भएको उनले जनाएका छन्।
यस्तै, राष्ट्रिय वाणिज्य बैंकमा २५ लाख रुपैयाँ रहेको उल्लेख गर्दै उनले उक्त रकम निर्वाचन लड्दा सहयोगीहरूबाट प्राप्त चन्दा खर्च गरेपछि बाँकी रहेको रकम भएको बताएका छन्।
पुनले हालसम्म करिब २ लाख ५० हजार रुपैयाँ बराबर पुस्तक बिक्रीबाट प्राप्त भएको रकम पनि राष्ट्रिय आविष्कार केन्द्र तथा वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रको नाममा नेपाल बैंक लिमिटेडमा जम्मा गरिएको जानकारी दिएका छन्।