पर्सा, १५ बैशाख — पर्सा जिल्लाको बिन्दावासिनी गाउँपालिका–४ मधवल निवासी बिनोद कुमार चौरसियालाई किर्ते जालसाजीको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चौरसियाले सोही स्थानकी सुरसती देवीको नाममा रहेको जग्गा किर्ते गरी मालपोत कार्यालय पर्साबाट आफ्नो नाममा लालपुर्जा बनाएको आरोप लागेको छ। उक्त घटनाबारे उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो।
अनुसन्धानका क्रममा प्रहरीले सोमबार चौरसियालाई नियन्त्रणमा लिएको जनाएको छ। यसै प्रकरणमा संलग्न रहेको आरोपमा उनका भाइ हरिकिशोर प्रसाद चौरसिया, लालबाबु चौरसिया र रामबाबु चौरसिया हाल फरार रहेका छन्। उनीहरूको खोजी कार्य तीव्र रूपमा जारी रहेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका बिनोद कुमार चौरसियामाथि जिल्ला प्रहरी कार्यालय पर्साले अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।