झापा, १५ बैशाख — झापास्थित हिमालय माध्यमिक विद्यालयमा करिब १ करोड रुपैयाँ बराबरको भ्रष्टाचार भएको खुलासा भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उक्त तथ्य सार्वजनिक भएको हो।
अख्तियारले दायर गरेको आरोपपत्र अनुसार दुवै जना मिलेमतोमा विद्यालयको आर्थिक कारोबारमा अनियमितता गरी ठूलो रकम हिनामिना गरेका छन्। नमुना विद्यालय भवन निर्माणका क्रममा वास्तविक खर्चभन्दा बढी देखाएर नक्कली बिल तथा भर्पाइ तयार गरी ५९ लाख २६ हजार ६ सय ८६ रुपैयाँ भुक्तानी लिएको आरोप लगाइएको छ।
यसैगरी, विद्यालयको खातामा रहेको १७ लाख ९६ हजार ५ सय २१ रुपैयाँ समेत दुरुपयोग गरिएको जनाइएको छ। आर्थिक वर्ष २०७७-७८ देखि संचित १६ लाख ६० हजार १०१ रुपैयाँ बेरुजु रकमसमेत हिनामिना गरिएको आरोपपत्रमा उल्लेख गरिएको छ।
अख्तियारले यी सबै रकम जोड्दा करिब १ करोड रुपैयाँ बराबरको भ्रष्टाचार भएको दाबी गरेको छ। मुद्दा विचाराधीन रहेको र अदालतबाट अन्तिम निर्णय आउन बाँकी रहेको आयोगले जनाएको छ।