आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News जेन जी आन्दोलनमा जलेको गाडीको नाममा कर्मचारीले लिए इन्धन सुबिधा

जेन जी आन्दोलनमा जलेको गाडीको नाममा कर्मचारीले लिए इन्धन सुबिधा

37

काठमाडौँ, १५ बैशाख — स्वास्थ्य मन्त्रालयभित्र इन्धन दुरुपयोगको गम्भीर प्रकरण सार्वजनिक भएको छ। २३ र २४ भदौमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा जलेका सवारीसाधनको नाममा समेत कर्मचारीले इन्धन सुविधा लिने गरेको खुलासा भएपछि मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको हो।

स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको अनियमितताबारे गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीमाथि कडा कारबाही गर्न निर्देशन दिएकी छन्। उनले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई तत्काल छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न जिम्मेवारी दिएकी छन्।

मन्त्रालयका अनुसार उक्त आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयका १८ र मातहतका अन्य निकायका ६ गरी कुल २४ वटा सवारीसाधन जलेका थिए। ती सवारीसाधन पूर्ण रूपमा क्षति भई प्रयोगयोग्य नरहे पनि कर्मचारीहरूले सोही विवरण देखाएर इन्धन सुविधा लिँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यसैबीच, स्वास्थ्य तथा खानेपानी मन्त्रालय अन्तर्गतका संरचनाहरूमा दुरुपयोग भइरहेको सवारीसाधनलाई मन्त्रालयमै फिर्ता ल्याउने प्रक्रिया समेत सुरु गरिएको जनाइएको छ। मन्त्रालयले यसलाई प्रशासनिक सुधारको भागका रूपमा अघि बढाएको बताएको छ।

छानबिनको निष्कर्षपछि दोषी कर्मचारीमाथि आवश्यक कारबाही गरिने मन्त्रालयले जनाएको छ।