काठमाडौं, १४ वैशाख — श्रम संस्कृति पार्टीले देशभरका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई संगठित गर्ने अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। पार्टीका अध्यक्ष हर्क साम्पाङ ले सरकारले नदी उकास, सरकारी तथा सार्वजनिक जग्गामा रहेका बस्ती हटाउने अभियान अघि बढाएको भन्दै यस्तो घोषणा गरेका हुन्।
अध्यक्ष साम्पाङले जारी गरेको अपिलमा देशैभर रहेका जिल्ला तथा पालिका समितिहरूलाई सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई संगठित गर्न सक्रिय रूपमा लाग्न निर्देशन दिएका छन्। उनले बस्ती हटाउने सरकारी कदमको निरन्तर विरोध गर्दै आएका छन् र सामाजिक सञ्जालमार्फत पनि सुकुम्बासीहरूलाई एकजुट हुन आह्वान गर्दै आएका छन्।
यसअघि बस्ती हटाउने क्रममा विपक्षी दलहरूले विरोध जनाए पनि बस्ती भत्काइसकेपछि उनीहरूको स्पष्ट धारणा सार्वजनिक नभएको देखिएको छ।
यसैबीच सरकारले शनिबारदेखि काठमाडौं उपत्यकाका नदी किनार, सार्वजनिक तथा नदी उकास क्षेत्रहरूमा निर्माण गरिएका घरटहरा हटाउने अभियान तीव्र बनाएको छ। विशेषगरी थापाथली र सिनामंगलस्थित बागमती नदी किनार तथा मनोहरा खोलाको आसपासका सुकुम्बासी बस्तीमा डोजर प्रयोग गरी संरचना हटाइएको छ।
बस्ती हटाइएपछि प्रभावित सुकुम्बासीहरूलाई अस्थायी रूपमा कीर्तिपुरस्थित सत्सङ भवन तथा केहीलाई होटलहरूमा राखिएको सरकारी स्रोतले जनाएको छ।