पोखरा, १३ बैशाख — कास्कीमा कार्यरत एक वरिष्ठ प्रहरी हवलदार घुस लिएको आरोपमा रंगेहात पक्राउ परेका छन्।
केही महिनाअघि मात्रै उत्कृष्ट प्रहरीको रूपमा सम्मानित विष्णु थापा क्षेत्रीलाई लागू औषधसम्बन्धी मुद्दा मिलाइदिने बहानामा सेवाग्राहीसँग ५० हजार रुपैयाँ लिँदै गर्दा शनिबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो।
स्रोतका अनुसार उनले उक्त मुद्दा मिलाइदिन ३ लाख रुपैयाँ माग गरी सहमति गरेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत थापा यसअघि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी जटिल मुद्दाको अनुसन्धानमा सक्रिय प्रहरीका रूपमा परिचित थिए।
२०८१ साल पुसमा उत्कृष्ट कार्यसम्पादनका आधारमा सम्मानित भएका उनीमाथि विगतमा पनि सेवाग्राहीलाई दुःख दिने, फाइल लुकाउने तथा बार्गेनिङ गर्ने आरोप लाग्दै आएको खुलेको छ। उनीविरुद्ध अख्तियार, राष्ट्रिय सतर्कता केन्द्रदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरी परेको स्रोतको दाबी छ।
दरबन्दी अन्यत्र रहे पनि पहुँचका आधारमा कास्कीमै काज सरुवा भई लामो समयसम्म मुद्दा फाँटमै कार्यरत रहनु समेत विवादको विषय बनेको थियो। अख्तियार कार्यालय पोखराले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।