वीरगञ्ज, १० बैशाख – वीरगञ्ज महानगरपालिका पर्सा ले त्रिभुवन राजपथ विस्तारका क्रममा प्रभावित घरहरू भत्किएको अवस्थाको मौका छोपी घरधनीहरूले व्यवसायीहरूबाट अत्यधिक भाडा माग्ने तथा अनधिकृत दबाब दिने कार्य भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ।
महानगरपालिकाले प्राप्त जनगुनासोका आधारमा बहाल सम्झौतामा दबाब दिने, सम्झौता अवधि अगावै घर खाली गराउने प्रयास गर्ने तथा धरौटीको नाममा अनावश्यक रकम माग्ने जस्ता गतिविधि बढेको जनाएको छ।
सूचनामा घर, कोठा, सटर तथा गोदाम भाडामा लिँदा–दिँदा आपसी सहमतिमा यथार्थ भाडादर कायम गरी सम्बन्धित वडा कार्यालयबाट अनिवार्य रूपमा प्रमाणित गराउनुपर्ने व्यवस्था गरिएको छ। सो सम्झौताको एक प्रति महानगरपालिकाको राजस्व व्यवस्थापन महाशाखामा समेत बुझाउनुपर्ने अनिवार्य गरिएको छ।
महानगरपालिकाले आपसी समझदारीविपरीत दबाब दिएर गरिएको भाडा लेनदेन वा फर्जी सम्झौता पेश गरिएको पाइएमा प्रारम्भिक अवधिबाटै जरिवाना लगाइने र प्रचलित कानुनअनुसार थप कारबाही गरिने चेतावनी दिएको छ।
त्रिभुवन राजपथ विस्तारका कारण सिर्जित परिस्थितिको फाइदा उठाएर हुने अनियमितता नियन्त्रण गर्न सबै पक्षलाई जिम्मेवार बन्न महानगरपालिकाले आग्रह गरेको छ।
