आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News प्रेम सम्बन्धको विवादमा प्रहरीको हत्या, वीरगन्जबाट ४ जना पक्राउ

प्रेम सम्बन्धको विवादमा प्रहरीको हत्या, वीरगन्जबाट ४ जना पक्राउ

46

वीरगन्ज, १ बैसाख २०८३— पर्साको वीरगन्ज महानगरपालिकामा विवाहेत्तर सम्बन्धका कारण एक प्रहरी जवानको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत पर्साको कालिकामाई गाउँपालिका–१ मुडली निवासी २८ वर्षीय विकास चौरसियाको आइतबार राति वीरगन्ज महानगरपालिका–११ रानीघाटस्थित एक घरमा हत्या भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, चौरसिया र एक विवाहित महिलाबीच रहेको विवाहेत्तर सम्बन्धका कारण घटना भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। पर्सा प्रहरीका अनुसार रानीघाटस्थित भारतीय महावाणिज्य दूतावास पछाडि रहेको फिरोज मियाँको घरमा डेरा गरी बस्दै आएका रौतहट माधवनारायण नगरपालिका–१ दिपही निवासी २६ वर्षीय सन्तोष साह र उनकी २४ वर्षीया श्रीमती सोनी कुमारी साहको कोठामा चौरसिया पुगेका थिए।

सोही क्रममा चार जनाले मिलेर उनको हत्या गरेको आरोप प्रहरीको अनुसन्धानबाट खुलेको छ। घटनामा संलग्न रहेको आरोपमा सन्तोष साह, उनकी श्रीमती सोनी कुमारी साह, बाराको महागढी नगरपालिका–७ निवासी १९ वर्षीय विशाल साह तथा भारत उत्तरप्रदेश अलीगढका २१ वर्षीय ओमवीर प्रजापतिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पर्सा प्रहरी प्रमुख एसपी सुदीपराज पाठकका अनुसार, सन्तोष साहले आफ्नी श्रीमतीलाई प्रयोग गरी चौरसियालाई कोठामा बोलाएका थिए। चौरसिया पुगेपछि चारै जनाले मिलेर उनको टाउकोमा रड प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनामा संलग्न सबै आरोपितलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।