वीरगञ्ज, ३० चैत । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरकारी विज्ञापन, सूचना र सार्वजनिक खरिदसम्बन्धी जानकारी सरकारी सञ्चारमाध्यममार्फत मात्र प्रकाशन–प्रसारण गर्न निर्देशन दिएपछि उक्त निर्णयविरुद्ध नेपाल प्रेस युनियनले देशभर अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने अभियानअन्तर्गत पर्सामा पनि कार्यक्रम सम्पन्न गरेको छ ।
यसै क्रममा अहिलेसम्म पत्रकारको माग सरकारले सम्बोधन नगर्दा सरकारी सञ्चारमाध्यममा मात्र सरकारी विज्ञापन प्रकाशन गर्ने निर्णयको विरोधमा पत्रकारहरूले आन्दोलनको तयारी गरेका छन्।
नेपाल प्रेस युनियन पर्सा शाखाले सोमबार वीरगञ्जमा आयोजना गरेको “सरकारी निर्णयले निजी मिडियामा पार्ने आर्थिक तथा व्यवसायिक असर” विषयक अन्तरक्रियामा नेपाल पत्रकार महासंघका सचिव अशोक तिवारी ले सरकारको निर्णयविरुद्ध चाँडै आन्दोलनका कार्यक्रम घोषणा गरिने जानकारी दिए।
कार्यक्रममा महासंघको मधेस प्रदेश का अध्यक्ष श्याम बन्जारा ले सरकारको निर्णयले साना लगानीका सञ्चारमाध्यम बन्द हुने जोखिम बढेको बताए। उनले स्थानीय तह र जनताका समस्या उजागर गर्ने साना मिडियाका लागि सरकारी विज्ञापन अत्यावश्यक भएको भन्दै नीति पुनर्विचार गर्न सरकारलाई आग्रह समेत गरे।
कार्यक्रममा प्रेस चौतारी नेपाल का केन्द्रीय सदस्य तुलसी भण्डारी, प्रदेश अध्यक्ष लालबाबु शेख, समाजवादी प्रेस संगठन का प्रदेश अध्यक्ष मनोज पटेल र जिल्ला पत्रकार महासंघ पर्सा का अध्यक्ष ओमप्रकाश खनाल लगायतले सरकारको निर्णयले सञ्चार क्षेत्र कमजोर हुने तथा प्रेस स्वतन्त्रतामा असर पर्ने धारणा राखेका थिए ।
वक्ताहरूले निर्णय नसच्याइए पत्रकारहरू एकजुट भई सडक संघर्षमा उत्रिनुको विकल्प नभएको चेतावनी दिएका छन्। कार्यक्रमको अध्यक्षता प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहान ले गरेका थिए भने सञ्चालन सचिव इरफान अली ले गरेका थिए।