वीरगंज, २८ चैत – वीरगञ्जमा ISKCON वीरगञ्जको आयोजनामा श्री जगन्नाथ रथ यात्रा भव्य तथा श्रद्धापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा हजारौँ श्रद्धालु तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
हिन्दू धर्मको पवित्र पर्वका रूपमा मनाइने यस रथ यात्रामा भगवान् जगन्नाथ, बलदेव र सुभद्रा महारानीको रथ नगर परिक्रमा गराइएको थियो। धार्मिक विश्वासअनुसार यस दिन भगवान् स्वयं भक्तजनलाई दर्शन दिन बाहिर निस्कने मान्यता रहेको छ।
रथ यात्रा गहवा माई पार्कबाट सुरु भई विभिन्न स्थान हुँदै माइस्थान पार्कमा समापन गरिएको थियो। कार्यक्रममा भजन–कीर्तन, आध्यात्मिक प्रवचन तथा सहभागीहरूका लागि निःशुल्क प्रसाद वितरण गरिएको थियो।
पर्सा, बारा, रौतहट तथा भारतको रक्सौलबाट समेत भक्तजनको सहभागिता रहेको उक्त कार्यक्रम शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। कार्यक्रम इस्कॉन वीरगञ्जका प्रमुख मुक्तिनाथ साहको अध्यक्षतामा सम्पन्न भएको थियो।
