वीरगञ्ज, २७ चैत — पर्सा क्षेत्र नम्बर १ का सांसद तथा रास्वपा पर्सा सभापति हरि पन्त ले निर्वाचनपछि राजधानीमै सीमित रहने प्रवृत्तिलाई तोड्दै आफ्नै क्षेत्रमा निजी सचिवालय स्थापना गर्नुभएको छ।
वीरगञ्ज महानगरपालिका–८ मा हिजो आयोजित एक कार्यक्रमबीच सांसद पन्तले सचिवालयको औपचारिक उद्घाटन गरेका हुन्। कार्यक्रममा पर्सा–१ का विभिन्न तहका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उद्घाटन कार्यक्रममा बोल्दै सांसद पन्तले आफू वीरगञ्ज बाहिर रहँदा पनि जनताका समस्याको समाधानमा निरन्तर सहजीकरण गर्ने उद्देश्यले सचिवालय स्थापना गरिएको बताए। उनले सुदिश प्रजापति को नेतृत्वमा १५ सदस्यीय टोली गठन गरिने जानकारी दिँदै केही दिनभित्रै सम्पूर्ण सदस्यहरूको नाम र सम्पर्क नम्बर सार्वजनिक गरिने बताए।
उनका अनुसार अब जनताले प्रत्यक्ष रूपमा परिवर्तनको अनुभूति गर्ने गरी काम अगाडि बढाइनेछ। यसका लागि सम्बन्धित सरकारी निकायहरूलाई आवश्यक निर्देशन दिइसकिएको उनले उल्लेख गरे। साथै, कुनै पनि काममा ढिलासुस्ती वा समस्या आएमा सचिवालयले सार्वजनिक गर्ने सम्पर्क नम्बरमा जानकारी गराउन उनले सर्वसाधारणलाई आग्रह गरेका छन्।
कार्यक्रममा रास्वपा पर्साका उपसभापति तुल्सा पौडेल, सचिव सुदिश प्रजापति, कोषाध्यक्ष दिलिप कुर्मी, क्षेत्रीय सभापति राम आर्या, महानगर सभापति अमन आलम तथा सचिव गौतम श्रेष्ठ लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी निर्वाचन परिचालन समितिका संयोजक, उपसंयोजक तथा अन्य शुभेच्छुकहरूको पनि सक्रिय सहभागिता रहेको थियो।