92
काठमाडौँ, २७ चैत — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर बढ्दै गएपछि निगमलाई ठूलो आर्थिक भार परेको भन्दै नयाँ मूल्य समायोजन गरिएको जनाएको छ।
निगमका अनुसार बिहीबार राति १२:०० बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १७ रुपैयाँले वृद्धि गरिएको छ। यससँगै डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २५ रुपैयाँले बढाइएको छ।
यस्तै, खाना पकाउने ग्यास (एलपी ग्यास) मा प्रति सिलिन्डर १०० रुपैयाँ वृद्धि गरिएको निगमले जनाएको छ।
मूल्य वृद्धि गरे पनि निगम अझै घाटामा रहेको जनाएको छ। निगमका अनुसार हालको समायोजनपछि पनि कुल १० अर्ब २१ करोड ९१ लाख रुपैयाँ बराबरको घाटा रहने अनुमान गरिएको छ।
