काठमाडौं, २६ चैत ।
नेकपा एमाले का अध्यक्ष के पी शर्मा ओली ले आफूलाई गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको दाबी गर्दै अन्ततः प्रमाण अभावमा रिहा भएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै नेकपा (एमाले) का अध्यक्ष ओलीले सरकारमाथि पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले फौजदारी अभियोग लगाइएको आरोप लगाए। उनले १३ दिनसम्म आफूलाई गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको उल्लेख गर्दै मुद्दा चलाउने पर्याप्त आधार र प्रमाण नपुगेपछि रिहा गरिएको बताएका छन्।
ओलीले आफ्नो रिहाइका लागि आवाज उठाउने सबैप्रति आभार व्यक्त गरेका छन्। उनले न्यायप्रेमी सर्वसाधारण, कानुन व्यवसायी, न्यायकर्मी, विभिन्न राजनीतिक दल, नेताहरू तथा सञ्चारकर्मीहरूको भूमिकाको प्रशंसा गरेका छन्। साथै, परमादेश जारी गर्ने सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गरेका छन्।
प्रहरी नियन्त्रणमा रहँदा आफूलाई मानवीय व्यवहार गरिएको उल्लेख गर्दै उनले प्रहरी प्रशासन तथा उपचारमा संलग्न त्रिवि शिक्षण अस्पताल परिवारप्रति कृतज्ञता व्यक्त गरेका छन्।
यसैबीच, आफ्नो रिहाइको माग गर्दै प्रदर्शन गर्ने क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले उपचार खर्च राज्यले बेहोर्नुपर्ने बताएका छन्। यदि राज्य उदासीन भए पार्टीले नै उपचार खर्च व्यहोर्ने जानकारी पनि उनले दिएका छन्।
स्वास्थ्य अवस्था प्रतिकूल रहेको भन्दै केही दिन अस्पतालमै बसेर उपचार गराउने जानकारी दिँदै उनले पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
