काठमाडौं, २५ चैत २०८२— सरकारले पेट्रोलियम पदार्थ आयातमा लाग्ने भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। मन्त्रीपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो।
सरकारको निर्णयसँगै पेट्रोल, डिजेल तथा खाना पकाउने एलपी ग्यासको मूल्य घट्ने अपेक्षा भए पनि नेपाल आयल निगम ले तत्काल मूल्य नघटाउने जनाएको छ। निगमका अनुसार हाल इन्धनमा उच्च घाटा रहेकाले मूल्य समायोजन सम्भव नभएको हो।
कर घटेपछि पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेलरमटितेलमा ११ रुपैयाँ र ग्यासमा करिब ४५ रुपैयाँसम्म सस्तो पर्न सक्ने अनुमान गरिएको छ। तर अझै पनि पेट्रोल, डिजेल र ग्यासमा ठूलो घाटा कायम रहेको निगमले जनाएको छ।
पछिल्लो समय पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै जाँदा यसको प्रभाव नेपालमा पनि परेको छ। पछिल्ला तीन सातामा पेट्रोलमा ४५ रुपैयाँ र डिजेलमा ४० रुपैयाँसम्म मूल्य वृद्धि भइसकेको छ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार कर कटौतीपछि पनि कुल घाटा १० अर्बभन्दा बढी रहेको छ। यसले इन्धन आपूर्ति व्यवस्थापनमा चुनौती थपिएको छ।
हाल बजारमा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ, डिजेल १८२ रुपैयाँ र ग्यास प्रतिसिलिन्डर १९१० रुपैयाँमा बिक्री भइरहेको छ।