काठमाडौँ, २३ चैत — मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३ तर्जुमा गर्ने उद्देश्यले सरोकारवाला निकायबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा आगामी मनसुनलाई लक्षित गर्दै तयार गरिने कार्ययोजनामा समावेश गर्नुपर्ने मुख्य विषयवस्तु, कार्ययोजनाको स्वरुप तथा गत वर्षको कार्ययोजना कार्यान्वयनबाट प्राप्त सिकाइ र असल अभ्यासबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले कार्ययोजना कार्यान्वयनयोग्य, यथार्थपरक तथा निर्दिष्ट लक्ष्यहरू हासिल गर्न सकिने किसिमको हुनुपर्नेमा जोड दिएका थिए।
अन्तरक्रियाका क्रममा सबै सरोकारवाला निकायहरूले आफ्नो विद्यमान जनशक्तिको अवस्था, पूर्वतयारी तथा प्रतिकार्यका गतिविधि, प्रारम्भिक राहतका लागि आवश्यक मौज्दातको स्थिति तथा सम्पादन गरिने क्रियाकलापहरूको विवरण यथाशीघ्र उपलब्ध गराउने समझदारी भएको छ।
प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विषयगत क्षेत्र (क्लस्टर) का सरकारी निकाय (लिड) तथा सहयोगी निकाय (को–लिड), सम्बन्धित विभागहरू, राष्ट्रसंघीय निकाय, विपद् व्यवस्थापन क्षेत्रमा क्रियाशील साझेदार संस्थाहरू तथा विज्ञहरूको सहभागिता रहेको थियो।
यसैबीच, कार्ययोजना तर्जुमा प्रक्रियालाई अगाडि बढाउन प्राधिकरणका सहसचिव रोशनी कुमारी श्रेष्ठको संयोजकत्वमा २१ सदस्यीय कार्यदल गठन गरिएको छ। उक्त कार्यदलले समन्वयात्मक रूपमा कार्ययोजना तयार पार्ने जिम्मेवारी पाएको छ।
