काठमाडौँ, २३ चैत —नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक आगामी बिहीबार थुनामुक्त हुने भएका छन्। सर्वोच्च अदालतले प्रक्रिया पूरा गरी हिरासत मुक्त गर्न सरकारका नाममा परमादेश जारी गरेपछि उनीहरू थुनामुक्त हुने भएका हुन्।
काठमाडौं जिल्ला अदालतले आइतबार ओली र लेखकलाई अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको थियो। सोही अवधिभित्र अनुसन्धान सम्पन्न गर्न सर्वोच्च अदालतले सरकारविरुद्ध परमादेश जारी गरेको हो।
परमादेशमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई हिरासत मुक्त गर्दै थप अनुसन्धान तथा तहकिकातको कार्य अघि बढाउन निर्देशन दिइएको छ।
आदेशमा “ओली र लेखकलाई हिरासतमुक्त गरी थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरी जो जे गर्नुपर्ने गराउनू” भनिएको छ।
उक्त आदेश विनोद शर्मा र सुनिल कुमार पोखरेल को संयुक्त इजलासले जारी गरेको हो |