आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News इन्धन खपत घटाउन दुई दिन बिदा, निगमलाई प्रतिलिटर करिब १२० रुपैयाँ घाटा

इन्धन खपत घटाउन दुई दिन बिदा, निगमलाई प्रतिलिटर करिब १२० रुपैयाँ घाटा

91

काठमाडौँ, २३ चैत — नेपाल आयल निगमले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आज सोमबारदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि निगमले उपभोक्तालाई अनावश्यक रूपमा इन्धन प्रयोग नगर्न अपिल गरेको हो।

निगमका प्रवक्ता मनोज ठाकुरले बिदालाई घुमफिरको अवसरका रूपमा प्रयोग नगरी इन्धन बचतमा ध्यान दिन आग्रह गरे। “बिदा पायौँ भनेर गाडी निकालेर घुम्न जानु हुँदैन, जसरी भए पनि इन्धन खपत कम गर्नु आवश्यक छ,” उनले भने, “हाल निगमलाई प्रतिलिटर करिब १२० रुपैयाँ घाटा भइरहेको छ।”

पेट्रोलियम पदार्थको आपूर्ति संकट बढ्दै गएपछि सरकारले इन्धन खपत घटाउने उद्देश्यले यो निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न कानुनी सुधार गर्ने तयारी पनि भइरहेको छ।

निगमको तथ्यांकअनुसार देशभर दैनिक करिब २५ लाख लिटर पेट्रोल र ५० लाख लिटर डिजेल खपत हुँदै आएको छ। प्रवक्ता ठाकुरले सरकारको निर्णयले इन्धन संकट कम गर्न कत्तिको प्रभाव पार्छ भन्नेबारे स्पष्ट हुन केही समय लाग्ने बताए।

“बजारको माग बुझ्न कम्तीमा एक हप्ता कुर्नुपर्छ, तर यसको प्रभाव अवश्य देखिन्छ,” उनले भने। उनले निजी विद्यालयका सवारीसाधन र हाल सञ्चालनमा रहेको एसइई परीक्षाका कारण पनि इन्धन खपत उच्च रहेको उल्लेख गर्दै परीक्षा सकिएपछि यथार्थ तथ्यांक आउन सक्ने बताए।

सरकार र निगम दुवैले उपभोक्ताको सहकार्य बिना इन्धन संकट समाधान सम्भव नहुने भन्दै आवश्यकबाहेक इन्धन प्रयोग नगर्न पुनः आग्रह गरेका छन्।