काठमाडौं, २२ चैत २०८२ — भदौ २३ र २४ को दिन जेन जी आन्दोलनमा भएको घटनासम्बन्धमा पक्राउ परेका केपी शर्मा ओली र रमेश लेखक विरुद्ध दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
यसअघि सर्वोच्च अदालतले जारी गरेको कारण देखाउ आदेशअनुसार विपक्षी पक्षले लिखित जवाफ पेश गरिसकेकाले आज मुद्दाको सुनुवाइ तय गरिएको हो।
जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयपछि प्रहरीले चैत १४ गते दुवै नेतालाई पक्राउ गरेको थियो। पक्राउ गैरकानुनी भएको दाबी गर्दै उनीहरूले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए।
चैत १६ गते भएको प्रारम्भिक सुनुवाइपछि अदालतले दुवै रिटमा छुट्टाछुट्टै इजलासमार्फत सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो।
यसैबीच, राधिका शाक्य र यशोदा लेखक ले गत आइतबार सर्वोच्च अदालतमा छुट्टै रिट दायर गर्दै आफ्ना पतिहरूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै तत्काल रिहा गर्न माग गरेका छन्।
रिट निवेदनमा भदौ २३ र २४ का घटनासम्बन्धी आयोगको प्रतिवेदनको सिफारिसका आधारमा गरिएको पक्राउ र थुनामा राख्ने कार्य गैरकानुनी भएको उल्लेख गरिएको छ।