आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News एसईई परीक्षाबाट सिरहामा केन्द्राध्यक्षसहित ६ जना निष्कासित

एसईई परीक्षाबाट सिरहामा केन्द्राध्यक्षसहित ६ जना निष्कासित

79

सिरहा, २१ चैत — माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत नेपाली विषयको दोस्रो दिनको परीक्षामा सिरहामा प्रशासनले कडाइ गरेको छ। शुक्रबार गरिएको अनुगमनका क्रममा जिल्लाका विभिन्न परीक्षा केन्द्रहरूबाट ठूलो संख्यामा अवैध सामग्री बरामद गरिएको छ।

शिक्षा विकास तथा समन्वय इकाई सिरहाका अनुसार ९ वटा परीक्षा केन्द्रबाट १९४ थान मोबाइल फोन र २ थान स्मार्टवाच बरामद गरिएको हो। परीक्षा मर्यादा उल्लंघन भएको पाइएपछि मोबाइलसहित भेटिएका २ जना केन्द्राध्यक्ष र अन्य ४ जना निरीक्षकलाई निष्कासन गरिएको जनाएको छ।
निष्कासित हुनेमा बालमन्दिर माध्यमिक विद्यालयका केन्द्राध्यक्ष संजय यादव र जनता माध्यमिक विद्यालय फुलबरियाका केन्द्राध्यक्ष रामकिशोर यादव रहेका छन्।

इकाइ प्रमुख दीपक राज कनौलीका अनुसार प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको नेतृत्वमा खटिएको अनुगमन टोलीले परीक्षा अमर्यादित बनाउने प्रयास देखेपछि तत्काल कारबाही गरेको हो।
विगतका वर्षहरूमा सिरहाका परीक्षा केन्द्रहरूमा सेटिङ, प्रभाव तथा विचौलियाको सक्रियता देखिँदै आएको थियो, जसका कारण परीक्षा प्रणालीको विश्वसनीयतामाथि प्रश्न उठ्ने गरेको थियो। यस वर्ष त्यस्ता गतिविधि दोहोरिन नदिन कडाइका साथ निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका छन्।

यस वर्ष सिरहाबाट कुल ११ हजार ३७ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका छन्। तीमध्ये १० हजार ६२५ जना साधारण धार र ४१२ जना प्राविधिक धारका विद्यार्थी रहेका छन्। परीक्षार्थीमध्ये ५ हजार ३०८ छात्रा र ५ हजार ७२९ छात्र रहेका छन्। जिल्लाभर ५१ वटा परीक्षा केन्द्र तोकिएका छन्।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भइरहेको छ।