आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढ्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढ्यो

85

काठमाडौं, चैत २० — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ। निगमले पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्य बढाएको जनाएको हो।

निगमका अनुसार नयाँ मूल्य आज शुक्रवारदेखि लागू हुनेगरी समायोजन गरिएको हो। मूल्यवृद्धिपछि उपभोक्ताले अब पेट्रोलियम पदार्थ महँगो दरमा खरिद गर्नुपर्ने भएको छ।

नयाँ दर अनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ। यसअघि यी स्थानहरूमा पेट्रोल १८७ रुपैयाँ प्रतिलिटरमा बिक्री हुँदै आएको थियो। यस्तै, डिजेल र मट्टितेलको मूल्य १६७ रुपैयाँबाट बढेर १८२ रुपैयाँ प्रतिलिटर पुगेको छ।

पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १८४ रुपैयाँबाट बढेर १९९ रुपैयाँ ५० पैसा कायम गरिएको छ। त्यस्तै, डिजेल र मट्टितेलको मूल्य १६४ रुपैयाँ ५० पैसाबाट बढेर १७९ रुपैयाँ ५० पैसा पुगेको छ।

दोस्रो वर्गअन्तर्गत पर्ने सुर्खेत र दाङमा पेट्रोलको मूल्य १८६ रुपैयाँबाट बढेर २०१ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १६६ रुपैयाँबाट बढेर १८१ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा आयात लागत बढेका कारण मूल्य समायोजन गर्नुपरेको निगमको भनाइ छ।