काठमाडौं, १९ चैत — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७८ वटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ।
मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत वा सो सरह) का कर्मचारीहरुलाई रिक्त स्थानहरूमा जिम्मेवारी दिइएको हो।
मन्त्रालयका अनुसार जिम्मेवारीमा खटाइएका अधिकांश कर्मचारी विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत थिए। नयाँ सरकार गठन भएसँगै लामो समयदेखि रिक्त रहेका स्थानीय तहका प्रशासनिक नेतृत्व पूर्ति गर्ने उद्देश्यले यो निर्णय गरिएको जनाइएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको सक्रियतामा पछिल्लो समय स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउने प्रक्रिया तीव्र बनाइएको छ।
यसअघि पनि मन्त्रालयले विभिन्न जिल्लाका समन्वय समिति र नगरपालिकामा गरी ६३ जना प्रमुख प्रशासकीय अधिकृत खटाइसकेको छ।