काठमाडौं, १७ चैत — वैदेशिक रोजगारीमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण अब सरकारी अस्पतालबाट पनि गर्न सकिने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यससम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउने प्रक्रिया अघि बढाएको हो।
मन्त्रालयले वैदेशिक रोजगार ऐन तथा नियमावलीमा भएको प्रावधानलाई कार्यान्वयन गर्दै सरकारी स्वामित्वका स्वास्थ्य संस्थाहरूलाई पनि स्वास्थ्य परीक्षणका लागि सूचीकरण गर्ने निर्णय गरेको छ।
चैत १७ गते मन्त्रीस्तरीय निर्णयअनुसार वैदेशिक रोजगारीमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्न इच्छुक सरकारी तथा नेपाल सरकारबाट स्वीकृति प्राप्त स्वास्थ्य संस्थाहरूका लागि सूचीकरण प्रक्रिया खुला गरिएको मन्त्रालयले जनाएको छ।
निर्णयमा “वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चाहने नेपाल सरकारबाट स्वीकृति प्राप्त वा नेपाल सरकारको स्वामित्वमा रहेका स्वास्थ्य संस्थालाई सूचीकरण खुला गर्ने” उल्लेख गरिएको छ।
यस निर्णयसँगै अब सरकारी अस्पतालहरूले पनि वैदेशिक रोजगारीका लागि आवश्यक स्वास्थ्य परीक्षण सेवा प्रदान गर्न पाउनेछन्।
