काठमाडौं, १७ चैत २०८२— श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालको असहज परिस्थितिका कारण पश्चिम एसियाका देशहरूमा नयाँ श्रम स्वीकृति नखोल्ने निष्कर्ष निकालेको छ।
सोमबार मन्त्रालयमा आयोजित छलफलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार शाह, सचिव डा। दीपक काफ्ले, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डका पदाधिकारी तथा सम्बन्धित देशहरूमा कार्यरत श्रम काउन्सलर र श्रम सहचारीहरूको सहभागिता रहेको थियो। छलफलमा सहभागी श्रम काउन्सलरहरूले पश्चिम एसियामा अवस्था अझै सुधार नभएको भन्दै नयाँ श्रम स्वीकृति दिन उपयुक्त नहुने सुझाव दिएका थिए।
मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेका अनुसार सोही सुझावका आधारमा नयाँ श्रम स्वीकृति तत्कालका लागि नखोल्ने निर्णय गरिएको हो।
यसअघि मन्त्रालयले फागुन १७ गतेदेखि साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, कतार, ओमान, बहराइन, टर्की, लेबनान, इजरायल, इरान र जोर्डनलगायतका देशहरूमा नयाँ तथा पुनः श्रम स्वीकृति रोकेको थियो। पछि चैत ३ गतेदेखि भने साउदी अरब, कतार, यूएई, बहराइन, ओमान, यमन र टर्कीका लागि पुनः श्रम स्वीकृति खुला गरिएको थियो।
हाल अमेरिका–इजरायल–इरान तनावका कारण पश्चिम एसियामा रहेका नेपाली श्रमिकहरूको सुरक्षा जोखिममा परेको मन्त्रालयले जनाएको छ। उक्त तनावका क्रममा एक नेपालीको मृत्यु हुनुका साथै करिब २० जना घाइते भएका छन्।
छलफलमा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको आवास, स्वास्थ्य परीक्षण तथा कार्यस्थल सुरक्षाजस्ता आधारभूत विषयमा पनि विस्तृत रूपमा छलफल गरिएको थियो। श्रमिकहरूले भोगिरहेका समस्याहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
त्यसैगरी, वैदेशिक रोजगार बोर्डमार्फत सञ्चालन भइरहेका सेफ हाउस तथा सेल्टरहरूको प्रभावकारी व्यवस्थापन, बजेटको नियमित खर्च र समयमै प्रतिवेदन पेश गर्ने विषयमा सहमति भएको छ। गन्तव्य मुलुकस्थित नेपाली दूतावासमार्फत सूचना प्रवाह सुदृढ गर्ने तथा प्राप्त गुनासाहरू छिटो समाधान गर्ने विषयमा पनि जोड दिइएको छ।
मन्त्रालयले दूतावासअन्तर्गत सञ्चालित सेफ हाउस तथा सेल्टरका लागि मापदण्ड तयार गर्ने प्रक्रिया अघि बढाउने तयारी समेत गरेको जनाएको छ।