काठमाडौं, १६ चैत — गृहमन्त्री सुधन गुरूङले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै प्रहरीलाई प्रभावकारी सेवा प्रवाहका लागि निर्देशन दिनुभएको छ।
निरीक्षणका क्रममा उहाँले सङ्ग्रहालय, डिजिटल फरेन्सिक ल्याब, एआई तथा डाटा सेन्टरलगायत इकाइको अवलोकन गर्नुभयो। कार्यक्रममा सम्बोधन गर्दै सीमित स्रोतसाधनका बाबजुद प्रहरीले जिम्मेवारी उत्कृष्ट रूपमा निभाएको उल्लेख गर्दै आगामी दिनमा अझ निर्धक्क र व्यावसायिक ढंगले काम गर्न निर्देशन दिनुभयो।
गृहमन्त्री गुरूङले नागरिक–प्रहरी सम्बन्ध सुधार, शिष्ट व्यवहार, प्रविधिमैत्री सेवा र विपद् व्यवस्थापनमा सशक्त भूमिका आवश्यक रहेको बताउनुभयो। साथै प्रहरीलाई साधनस्रोत र तालिममार्फत सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचन सफल बनाउन प्रहरीको भूमिकाको प्रशंसा गर्नुभयो भने प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले कानुन कार्यान्वयन र नागरिक सुरक्षामा प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो।
सो अवसरमा नेपाल प्रहरीको वर्तमान अवस्था, चुनौती र आगामी कार्यदिशाबारे प्रस्तुतीकरण समेत गरिएको थियो।