88
काठमाडौं, १५ चैत — काठमाण्डू जिल्ला अदालतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
जेन–जि आन्दोलनसम्बन्धी छानबिन गर्न गठित आयोगको प्रतिवेदनका आधारमा शनिबार पक्राउ परेका उनीहरूलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो। पक्राउ पुर्जी र म्याद थपसम्बन्धी मागमा सुनुवाइपछि अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४(६) अनुसार पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो।
अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार आदेशमा केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आवश्यक उपचारको व्यवस्था गर्न समेत निर्देशन दिइएको छ।