काठमाडौं, १४ चैत २०८२—
केपी शर्मा ओली को तत्काल रिहाइको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज बसेको सचिवालय बैठकले देशव्यापी आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ।
महेश बस्नेत ले भने बैठकले आम नागरिक, नागरिक समाज तथा पार्टीका जनसंगठनहरूको सहभागितामा कानुनी र राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको जनाएको छ। एमालेले यस विषयलाई लोकतन्त्र र कानुनी राज्यमाथिको चुनौतीका रूपमा लिँदै व्यापक जनदबाब सिर्जना गर्ने रणनीति अघि सारेको छ।
घोषित कार्यक्रमअनुसार आजै देशभरका प्रत्येक जिल्लाको सदरमुकाममा अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गरिनेछ। त्यस्तै, भोलि चैत्र १५ गते दिउँसो १२ बजे जिल्ला पार्टी कमिटीहरूको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाइने कार्यक्रम तय गरिएको छ।
एमालेले लोकतन्त्र र विधिको शासनमा विश्वास गर्ने अन्य राजनीतिक दलहरूसँग संवाद र सहकार्य गर्ने निर्णय समेत गरेको छ। साथै नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्दै आन्दोलनलाई थप सशक्त बनाइने बताइएको छ।
पार्टीका नेताहरूले यो आन्दोलन केवल एक व्यक्तिको रिहाइको माग मात्र नभई लोकतान्त्रिक मूल्य र कानुनी प्रक्रियाको रक्षा गर्नका लागि भएको दाबी गरेका छन्।